जनताले आशा र भरोसाका साथ हेरेको पाए : रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी स्थापनाको एक वर्षमा ‘ह्याप्पी डे’ मनाएको छ। पार्टी स्थापनाको एक वर्ष पूरा भएको अवसरमा बालाजुमा सरेको नयाँ कार्यालयमा ‘ह्यापी डे’ मनाएको हो। उक्त अवसरमा रास्वपाका सभापति रवि लामिछानेले एक वर्षको अवसरमा ‘सरी’ र ‘थ्यांक्यू’ भन्ने बताए।

‘हाम्रो पार्टी स्थापनाको एक वर्ष भएको छ। हामीले यसलाई ‘ह्याप्पी डे’ भनेका छौं,’ उनले भने, ‘यस अवसरमा हामी सहयोगका लागि ‘थ्यांक्यू’ भन्न चाहन्छौं। यसबीचमा भएका गल्तीका लागि ‘सरी’ भन्न चाहन्छौं।’ लामिछानेले पार्टी स्थापनाको पहिलो वर्ष जनताले आशा र भरोसाका साथ हेरेको पाएको बताए।

समाजले परिवर्तन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइसकेको उनको भनाई छ। सभापति लामिछानेले भने, ‘हाम्रो भाषामा भन्नुपर्दा समाज परिवर्तनको घण्टी बजिसकेको छ। पहिलो वर्ष सौहार्दपूर्ण रह्यो। सकारात्मक रूपमा हेरेका छौं।’ उनले आगामी दिनमा आम नागरिकसम्म पुग्नुपर्ने चुनौती रहेको बताए। उनले एक वर्ष सकारात्मक रहेको पनि बताए।

‘हामीलाई आम नागरिकसम्म पुग्नुपर्ने चुनौती छ,’ उनले भने, ‘हाम्रा विचार, नीतिहरू हामी कुन ढंगले अगाडि बढ्दै छौं आम नागरिकलाई बुझाउनुपर्ने छ।’ उपनिर्वाचनसम्म आइपुग्दा रास्वपाबारे आम नागरिकलाई थाहा भए पनि मतमा रूपान्तरण काम गर्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘संगठन विस्तार गरेर हामीले चाहे जस्तो नेतृत्वको विकास गरेर ठूलो बन्ने हो। ठूलो बन्नु संख्यामा मात्र ठूलो भन्ने कुरा भएन। पार्टी संगठनलाई परिणाम मुखी बनाउने ठूलो चुनौती छ।’

लामिछानेले समाजवादी मोर्चालाई दलीय अधिकार भनेर टिप्पणी गरे। अरू दलले बनाउने मोर्चाले रास्वपालाई कुर्नै असर नगर्ने उनको भनाई थियो। उनले भने, ‘हाम्रो डा. स्वर्णिम वाग्ले लडेको निर्वाचन क्षेत्रमा गठबन्धन भएको थियो नि ! त्यहाँ के भयो देख्नुभएन। दलहरूको मोर्चाबन्दी गरेर के गर्नुहुन्छ ? जनताको मुद्दामा मोर्चाबन्दी गर्नुस् न।’

प्रतिक्रिया

सम्बन्धित खवर