काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले न्यायाधीशहरूले न्याय सम्पादन निष्पक्ष गरिदिएमा न्याय मर्न नपाउने बताएका छन्।

मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेश स्थापनाको पाँच वर्ष पुगेको अवसरमा आज आयोजित एक अन्तर्क्रियामा उनले भने, ‘न्याय सम्पादन गर्दा दबाबमा भन्दा पनि न्याय मर्न नदिने किसिमबाट न्यायाधीशहरूले न्याय सम्पादन गर्नुपर्छ।’

न्यायालयबाट हुने निर्णय विवादास्पद हुन नहुने बताउँदै उनले भीडको अवस्थालाई हेरेर निर्णय गर्न नहुने भनाइ राखे। ‘कानुनभन्दा ठूलो कोही छैन, न्यायालयलाई स्वतन्त्र बनाउन हामी चाहन्छौं,’ मुख्यमन्त्री पाण्डेले भने, ‘प्रदेश सरकारले धेरै कानुनहरू बनाउन बाँकी नै छ, त्यसतर्फ आफ्नो ध्यान केन्द्रित छ।’

सञ्चार विधेयक पनि बनाएर सञ्चार क्षेत्रलाई मर्यादित बनाउने पक्षमा आफू रहेको उनको भनाइ थियो। पछिल्लो समय सामाजिक सञ्जाल र विद्युतीय सञ्चारमाध्यममा आउने समाचार भ्रमपूर्ण भएकाले ती सञ्चारमाध्यमलाई नियमन गर्न प्रेस काउन्सिल जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड थियो।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले न्यायको पहुँच दूरदराजको व्यक्तिमा समेत पुग्ने गरी हामीले काम गर्नुपर्नेमा जोड दिए। छिटो(छरितो न्याय सम्पादन गर्‍यौं भने न्यायालयप्रतिको विश्वास आम नागरिकले महसुस गर्न सक्ने भनाइ उनको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर