महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय लागुऔषधको अवैध कारोबार, सेवन र दुर्व्यसन अवस्था डरलाग्दोरुपमा बढेको पाइएको छ । आज मुलुकभर लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा सुदूरपश्चिममा खासगरी कैलाली र कञ्चनपुर ब्राउन सुगरको अवैध कारोबार र दुर्व्यसन अखडा बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्त)मा सुदूरपश्चिममा प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा सात सय ५४ जनालाई पक्राउ गरेको छ । जसमा १७ जना भारतीय नागरिक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम प्रदेशमा लागुऔषध मुद्दामा दुई सय ७० जना पक्राउ पर्नुका साथै सोसम्बन्धी एकसय ७१ मुद्दा दर्ता भएका थिए । पछिल्लो समय समाजको तल्लो तहसम्म लागुऔषध ब्राउन सुगर, चरेशलगायतको कारोबार र सेवनकर्ता बढ्दै गएको देखिएको छ ।
तीन वर्षअघिको तुलनामा सुदूरपश्चिममा लागुऔषध मुद्दामा पक्राउ सङ्ख्या र मुद्दाको सङ्ख्या हेर्दा ठूलो सङ्ख्याले बढेको पाइएको छ । कैलाली र कञ्चनपुरमा भारतसँगको खुला सीमानाका कारण ब्राउन सगुरको आयात र अवैध कारोबार बढ्दै गएको प्रहरीको भनाइ छ । गत साउनदेखि जेठसम्म सुदूरपश्चिमका नौवटै जिल्लाबाट प्रहरीले एक किलो दुई सय ८८ ग्राम आठ सय ९२ मिलिग्राम बाउनसुगर बरामद गर्नुका साथै ४८ किलो आठ सय छ ग्राम चरेश र एक सय चार किलोग्रामभन्दा बढी चरेश बरामद गरेको छ ।

