काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सन्दर्भमा सरकारले ठूलो उपलब्धि हासिल गरेको बताएका छन्। प्रतिनिधिसभामा बुधबार मन्त्रालयगत विनियोजित बजेटमाथि उठेका प्रश्नको उत्तर दिने क्रममा उनले सुशासन कायम गर्न सरकारले चालेका कदमबाट वर्तमान व्यवस्थाप्रति जनतामा भरोसा जगाएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले संसदमा संकल्प गरेको थिएँ- सुशासन सरकारको उच्च प्राथमिकता हुनेछ। मैले सरकारको यस बीचको सबभन्दा ठूलो उपलब्धि व्यवस्थाप्रति जनतामा जगाएको भरोसालाई मानेको छु। मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्यप्रति र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो। अहिले त्यसमा सुधार भएको छ। र, यसलाई मैले जनतामा राज्यप्रति र सरकारप्रति भरोसामा जो अभिवृद्धि भएको छ।’
उनले उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको टिप्पणी पनि गरे। नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानबाट सरकारले कानुन र लोकतन्त्रको सर्वोच्चता प्रमाणित गरेको उनको भनाई छ।
‘हाई प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् आम मनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा ठूलो आक्रोश जन्माइरहेको थियो। त्यो असन्तोषले लोकतन्त्रप्रति नै नकारात्मक धारणा बनिरहेको थियो। र, नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जाग्न सुरु भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चता मात्रै प्रमाणित गरेको छैन। लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ। लोकतन्त्र भित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रबाट नै प्राप्त हुन्छ भन्ने एउटा ऐतिहासिक मापदण्ड यो राम्रोसँग स्थापित भएको छ। उच्चपदस्थहरू र देशका एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ।’
नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानसँगै अव लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण पनि सुरु भएको उनको दाबी छ। त्यस्तै, ललिता निवास काण्डका अभियुक्त, मिटरब्याजी र सहकारीका ठगहरूमाथि पनि कारबाही सुरु भएको उनले जानकारी गराए। प्रधानमन्त्री प्रचण्डलेले भ्रष्टाचार विरुद्धको लडाई अझै नरोकिने बताए।
वर्षौंदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको लडाईंमा आफूलाई सांसद र जनताको अझ धेरै साथ आवश्यक रहेको बताउँदै उनले भने, ‘बेतिथिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काएरै छाडिनेछ।’

