रौतहट। रौतहटको मौलापुरमा आमा छोरीको रहस्यमय मृत्यु भएको छ। मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेको रौतहट प्रहरीले जनाएको छ।
आरुहीको शव पङ्खामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिए। उनका अनुसार मृतक कविताका पति धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो। कविताका बुबा विजयशङ्कर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो।
उनले बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएको भन्दै दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हुन सक्ने बताए। हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए।

