काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र दक्षिण कोरियाका परराष्ट्रमन्त्री पार्क जिनका दूत ली हुन वुकबीच भेटवार्ता भएको छ। कोरियाको बुसान सहरमा भएको द्विपक्षीय भेटका क्रममा दुई देशका जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने सन्दर्भमा कुराकानी भएको छ।
परराष्ट्रमन्त्रीका दूत ली हुन वुकले कोरिया सरकारमार्फत नेपालको विकासका लागि गर्न सक्ने सहयोग गर्न आफूहरू तयार रहेको बताए। ‘नेपाल र कोरियाबीच जनस्तरको सम्बन्ध स्थापित छ,’ परराष्ट्र मन्त्री पार्क जिनको सन्देश सुनाउँदै उनका दूत हुन वुकले भने, ‘यो सम्बन्धलाई अझ प्रगाढ बनाउँदै नेपालको समग्र विकासका क्षेत्रमा साथ र सहयोग गर्न कोरिया सरकार तयार छ।’
मन्त्री मोदीले कोरिया र नेपालबीचको कूटनीतिक सम्बन्ध स्थापित भएको ४९ औँ वर्ष पूरा भई ५० औँ वर्षगाँठमा प्रवेश गरेकोमा बधाई ज्ञापन गरे। नेपाल र कोरियाबीचको जनस्तरको सम्बन्धलाई थप परिष्कृत बनाउँदै लैजानुपर्ने उनको भनाई थियो। ‘यो सम्बन्धलाई अझ प्रगाढ र विश्वासिलो बनाउने दायित्व हाम्रो काँधमा छ,’ मन्त्री मोदीले भने, ‘दुवै देशको हक र हितका पक्षमा हुने सबैखाले गतिविधिमा हाम्रो साथ रहन्छ।’
मन्त्री मोदीले नेपालको संघीयता कार्यान्वयनको चरणमा रहेकाले संघीयताको प्रभावकारी कार्यान्वयन र सबलीकरणका सन्दर्भमा रचनात्मक र सकारात्मक सहयोगका लागि अपिल समेत गरे।

