काठमाडौं। उद्योगी एवं व्यवसायी दिपक मलहोत्राले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिन लागेको झण्डै एक क्वीन्टल सुन बरामद भएको थियो। त्यसमा मल्होत्राको नाम जोडिएपछि उनले त्यसबारे स्पष्ट पारेका हुन्।
मंगलबार बरामद भएको झन्डै एक क्विन्टल सुन व्यवसायी मल्होत्राको भएको समाचार आएको थियो। मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन्।
उनले उक्त समाचारप्रति आफ्नो आपत्ति रहेको र त्यसको खण्डन पठाउने बताए। ‘समाचारमा लेखिएजस्तो यो विषयमा मेरो कुनै पनि संलग्नता नभएको र प्रकाशित समाचारमा मसँग सम्बन्धित विषयहरु सत्य नभएको, भ्रामक र कपोकल्पित रहेको जानकारी गराउँछु’, पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा मल्होत्राले भनेका छन्।
‘खण्डन नछापे म त्यो सञ्चारमाध्यमविरूद्ध कानुनी उपचारमा जान्छु,’ उनले भने। यदि पुष्टि हुन्छ भने म जे पनि सजाय भोग्न तयार छु।’ उनले आफू कुनै अवैध धन्दामा संलग्न नरहेको र त्यसबारे सोच्दा पनि नसोचेको बताए।

