सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन्। विमानस्थलबाट बुधबार राति करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन शुक्रबार गृहमन्त्री विमानस्थलस्थित भन्सार कार्यालय पुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार निरीक्षण गरेपछि गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताए। उनले सुन तस्करीमाथिको छानबिनलाई जरैसम्म पुर्‍याएर सत्य तथ्य बाहिर ल्याउने बताए। उनले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताए।

‘यसको नेक्सस र रुटमा पुग्ने गरी कारबाहीको प्रक्रियामा जानुपर्छ भनेर मैले सम्बन्धित अधिकारीलाई पनि कडा निर्देशन दिएको छु। यस विषयमा प्रधानमन्त्रीको पनि जोड रहेको छ,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको भ्रष्टाचार विरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेका छौं। कसैले यसलाई भ्रम पार्न सकिन्छ कि विचलित बनाउन सकिन्छ भनेर नसोचे नि हुन्छ।’

गृहमन्त्री श्रेष्ठले मंगलबार विमानस्थल भन्सार कार्यालयको बाहिरबाट बरामद भएको १०० किलो सुनका सन्दर्भमा अहिले राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र प्रहरीले त्यसमा सहयोग गर्ने बताए। ‘यो घटनामा जो सुकै संलग्न भएको भए पनि सरकारले उन्मुक्ति दिन सक्दैन। एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा भएको घटनाले देशको सुरक्षामा नै प्रश्न उठाएको छ,’ उनले भने।

यसैगरी, सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक लिङ चुवानसहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न भन्सार विभागले छ सदस्यीय छानबिन समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वको टोलीले यसबारे छानबिन गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर