काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको काँग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन्। समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित समाजवाद बहस र संघर्ष विषयक कार्यक्रममा उनले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्व प्रधानमन्त्री नेपालले भने, ‘कतिपय कम्युनिष्ट पार्टी प्रतिगामीसँग हातेमालो गरिरहेका छन्। दलभित्रका कमी-कमजोरी र सीमालाई बुझेर संगठन विस्तार र शक्ति वृद्धिमा ध्यान दिन आवश्यक छ।’ पुँजीवाद अस्तित्वको संकटमा पुगेको र मुलुक समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्ने निश्चित रहेको बताउँदै उनले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको धारणा राखे।
विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसंग उल्लेख गर्दै अध्यक्ष नेपालले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिए। उनले भने, ‘समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिष्ट पार्टीको भविष्य उज्यालो छ।’

