काँग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ : देउवा

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन्। प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पदाधिकारीसँगको भेटमा आज सभापति देउवाले उक्त कुरा भनेका हुन्।

उनले भने, ‘काँग्रेस बलियो भएमा मात्र देशमा प्रजातन्त्र बलियो हुन्छ, त्यसैले विभिन्न पेशा, व्यवसाय तथा सबै क्षेत्रमा लागेका प्रजातान्त्रिक विचार राख्नेहरूले काँग्रेस बलियो बनाउनतर्फ लाग्नुपर्छ।’ उनले काँग्रेस र प्रजातन्त्रलाई बलियो बनाउनका लागि समाजबाट आएका सुझाव ग्रहण गर्दै सबै सुझाव कार्यान्वयन गर्ने बताए।

प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ। सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे।

भेटमा समाजले मुलुक विकासका लागि नेपाली काँग्रेस र प्रजातन्त्र बलियो बनाउन आवश्यक रहेको सुझाव दिएको थियो। समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्ले भने, ‘मुलुकको विकास र प्रजातन्त्रलाई बलियो बनाउनका लागि प्रजातान्त्रिक विचार समाजले दिएको सुझाव ग्रहण गरेर काँग्रेस अगाडि बढोस् भन्ने हाम्रो चाहना छ।’

अध्यक्ष वाग्लेले प्रजातन्त्रमाथि आज पनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउनका लागि समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत स्पष्ट पारे। भेटमा समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसी, वरिष्ठ उपाध्यक्ष गोकर्ण अर्याल, महासचिव डा वासुदेव भण्डारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठलगायत पदाधिकारी एवम् सदस्यको सहभागिता थियो।

प्रतिक्रिया

सम्बन्धित खवर