ललितपुर । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले यस्तो आग्रह गरेको बताएका हुन् ।
उनले कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरणमात्र राख्न पाइने बताए । नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ ।
रजिष्ट्रार डा. अधिकारीले चिकित्सकले पेसागत मर्यादा विपरीतका अभिव्यक्ति सम्प्रेषण गर्न नहुने बताए । सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए।

