बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर-३ मा पहिरोका कारण १२ परिवार विस्थापित भएका छन्। लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरी गाउँका ५ र धल्काँडाका ७ गरि १२ परिवार विस्थापित भएका हुन्।
बस्ती माथिबाट घरमाथिबाट पहिरो खसेपछि पूर्ण रुपमा १२ परिवार विस्थापित भएका गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले जानकारी दिइन्। पालिकाले दिएको जानकारी अनुसार बेहरीका चिन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित बनेका छन्।
त्यस्तै, धल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, बसन्त बोहरा झाँक्री बोहरा, गंग बोहरा अफिलाल बोहरा, ब्रिजीत बोहराको परिवार विस्थापित बनेका छन्। पहिरो सिंगो बस्तीलाई नै विस्थापित गर्ने गरि खसेको हो।
दिउँसोको समयमा पहिरो खसेकोले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नु परेको स्थानीय टीका रोकायाले बताए। १२ परिवारका ६० जना बढीलाई घर छोडेर बाहिर सारिएको छ। बेहरीका ५ परिवारलाई स्थानीय थुमथला आधारभुत विद्यालयमा राखिएको पालिका उपाध्यक्ष सीता थापाले बताइन्। घरभित्र राखिएको अन्न पात, लत्ता कपडा र अन्य सम्पत्ती भने छिमेकीको सहयोगमा बचाउन विस्थापित परिवार सफल भएका छन्।
वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको स्थानीय गणेश रोकायाले बताए। विस्थापित परिवारलाई सुरक्षित राखिएको र खान बस्नका लागि आवश्यक परे पालिकाका तर्फबाट पनि सहयोग गरिने गाउँपालिकाले जनाएको छ। गौमुलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा छन्। रासस

