काठमाडौं। काठमाडौं महानगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक प्रयोगमा निषेध गर्ने अभियान सफल बनाउन नियमित अनुगमन गर्ने भएको छ। कामपाले यही साउन १ गतेदेखि उक्त अभियान सुरु गरे पनि पूर्ण कार्यान्वयन नभएको भन्दै नियमित अनुगमन गर्ने जनाएको छ।
अनुगमन कार्यका लागि कामपा वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिने छ। प्रहरीको क्षेत्रबाट चार टोली र केन्द्रबाट एउटा टोली गरी पाँच वटा टोली परिचालन हुने कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले जानकारी दिए। उक्त टोलीले माइक्रोमिटरबाट प्रयोगमा रहेका प्लास्टिकको जाँच गर्नेछ।
जाँचिएका पोलिथिन ४० माइक्रोनभन्दा कम मोटाइका भए जफत गरी थप कारबाही गरिने छ। प्लास्टिकका फूल, प्लास्टिकका सजावटका सामान चाहिँ प्रयोग गर्न नपाइने प्रमुख श्रेष्ठले भने। कामपाका वडा, केन्द्र तथा अन्य कुनै पनि कार्यालयमा पोलिथिन झोला प्रवेश नगराउने कामबाट अभियान सुरु भइसकेको उनले जानकारी दिए।
अनुगमनका क्रममा सबैभन्दा पहिले आयात, भण्डारण बिक्री स्थलमा गएर ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकको प्रयोग निषेध गरिने छ। कामपाले पोलिथिनकै कारण ल्याण्डफिल साइट व्यवस्थापन गर्न कठिन भएको बताएको छ। प्लास्टिकमा रसायन प्रयोग गरिएको हुन्छ। यस कारण प्लास्टिक बाल्दा डाइअक्सिन, फ्युरान जस्ता विषाक्त ग्याँसहरू उत्सर्जन हुन्छन् जुन ग्याँसका कारण मानिसमा फोक्सो, मुटु र छालासम्बन्धी रोग लाग्ने खतरा हुने बताइएको छ।
सभ्यताका विम्ब वाग्मती, विष्णुमती, मनोहरा, धोबीखोला, टुकुचालगायतका नदी, राजकुलाहरू र खुल्ला स्थानमा प्लास्टिक फ्यालिएका कारण प्रदूषित बनेका छन्। सहरमा उत्पादन हुने फोहरमध्ये ७५ दशमलव पाँच प्रतिशत जैविक र २४ दशमलव पाँच प्रतिशत नकुहिने फोहर छ। नकुहिने फोहरको सबैभन्दा धेरै प्लास्टिक छ दशमलव पाँच प्रतिशत छ। यसको पनि तीन दशमलव आठ प्रतिशत पोलिथिन झोला रहेको विभागको भनाइ छ।
फोहरमा धातु, सिसा, रबर, कपडाजन्य, विद्युतीय र अन्य खालको फोहर छ। नदीलाई प्रदूषण गराउन प्लास्टिकको ७० प्रतिशत भूमिका छ। काठमाडौं उपत्यकामा दैनिक करिब ५० लाख थान प्लास्टिक झोलाको प्रयोग हुने अनुमान छ।

