काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको बताएका छन्।चितवनको भरतपुर विमानस्थलमा आज शनिबार सञ्चारकर्मीसित कुरा गर्दै उनले धेरै कानुन निर्माण गर्नुपर्ने संसद्ले पर्याप्त बिजनेस नपाएको गुनासो गरे।
सभापति लामिछानेले भने, “भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा सङ्केत पनि देखिएका छन्। तर ति पर्याप्त छैनन्।” सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै उनले सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।
सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गर्दै सभापति लामिछानेले भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरे। “गलत कुरालाई पार्टीभित्र प्रवेश गर्न दिँदैनौँ”, उनले भने। पार्टीमा धेरै थरीका व्यक्तिको प्रवेश भएको जिकिर गर्दै सभापति लामिछानेले गलत गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताए।रासस

