काभ्रे। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल अस्पतालद्वारा आज आयोजित दोस्रो ‘आधारभूत जीवन सहयोग’ दिवसमा उनले यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले स्वास्थ्य नीति लागू गराएर द्रुत गतिमा काम आफ्नो प्रयास रहने बताए।
‘यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौं,’ मन्त्री बस्नेतले भने। स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफू उक्त काममा दृढतापूर्वक लागेको उनको भनाइ थियो। ‘कर्मचारी दुर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउका जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निर्ममताका साथ परास्त गरेको छु, अहिले चिकित्सकलगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु,’ मन्त्री बस्नेतले भने।
चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उनले आग्रह गरे। मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको तथा फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुगमन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको जानकारी दिए।
संघीय १६ अस्पतालमा तीन हजार पाँच सय २३ शैय्या गरिब तथा विपन्नका लागि छुट्याएको उल्लेख गर्दै उनले १० प्रतिशत सबै अस्पताल तथा मेडिकल कलेजले छुट्याउने नीति सबैले लागू नगरेकाले सरकारी अनुगमनमा तीव्रता दिइएको बताए। जटिल प्रकारको रोगको उपचार नेपालमै सम्भव भएकाले नेपाली स्वास्थ्य जनशक्तिलाई विश्वास गर्न उनले आग्रह गरे। आगामी दुई वर्षभित्र गरिब तथा विपन्नलाई स्वास्थ्य सेवा तथा पाँच वर्षभित्र सम्पूर्ण उपचार निःशुल्क गर्ने योजना बनाएको मन्त्री बस्नेतले बताए। धुलिखेल अस्पतालको ‘आधारभूत जीवन सहयोग’ अभियान देशव्यापी बनाउन उनले आग्रह गरे।

