काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा २२ जना महिला सदस्य थपिएका छन्। काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकले २२ जना महिला सदस्य थप गरेसँगै अब माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ।
माओवादी केन्द्रको केन्द्रीय समितिमा अब ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको छ। थपिएका केन्द्रीय सदस्यहरू शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन्। माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले केन्द्रीय कमिटीमा २२ जना महिला नेताहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए।
माओवादी केन्द्रीय समितिको बैठकमा बुधबार राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २२ जना महिला नेतृलाई केन्द्रीय समिति ल्याउने प्रस्ताव गरेका थिए।
माओवादी केन्द्रका अनुसार आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाई, गिता शाही, छमकुमारी खनाल, दिलमाया बुढामगर, निरमाया श्रीस, निशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकली चलाउने, कुमारी पुन, लिला शर्मा, सपना परियार, सिता दाहाल, सुशीला घिमिरे, सुशीला पौडेल, सूर्यकुमारी विक, सरु चौधरी केन्द्रीय सदस्य बनेका छन्।

