काठमाडौं। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई समयानुसार परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन्। नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं १ प्रदेश (ख) र वडा नं ३१ ले आज यहाँ आयोजना गरेको ‘संयुक्त सम्मेलन’लाई आज उद्घाटन गर्दै उनले पार्टीलाई समय र परिस्थिति अनुसार परिवर्तन गर्दै लैजानुपर्ने बताए।
‘देशको राजनीतिक अवस्था पहिलेको जस्तो छैन। समय र परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा काँग्रेसलाई अप्ठ्यारो पर्न सक्छ,’ नेता सिंहले भने, ‘ठूलो पार्टी र इतिहासको मात्र कुरा गर्नुभन्दा आफूलाई परिवर्तन गर्दै लैजानुपर्छ।’ पार्टीले गरेका राम्रा कामलाई प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो।
पार्टीका पूर्व महामन्त्री सिंहले काँग्रेसले गरेका राम्रा कामलाई जनतामाझ लैजानुपर्ने भन्दै पार्टीभित्र मतभेद हुनु स्वभाविक भए पनि एक अर्कालाई दोष लगाएर कोही बलियो हुन नसक्ने बताए। काँग्रेस कमजोर हुँदा व्यक्ति बलियो हुन नसक्ने उनको भनाइ थियो। नेता सिंहले अबका दिनमा पार्टीलाई विधिसम्मत ढंगले अगाडि बढाएर आगामी निर्वाचनमा थप बलियो हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा काँग्रेस सहमहामन्त्री भीष्मराज आङदेम्बेले पार्टीलाई बलियो बनाउनका लागि सबैको ऐक्यबद्धता आवश्यक पर्ने बताए। काँग्रेस केन्द्रीय समितिले गरेका निर्णय तल्लो तहका कार्यकर्ताले पालना गरेर अगाडि बढ्नुपर्ने भन्दै जनताको सेवामा लाग्न सबै कार्यकर्तालाई आग्रह समेत गरे।

