भोजपुर। पहिरोमा पुरिएर भोजपुरमा एक जनाको मृत्यु भएको छ। जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर मृत्यु भएको हो।
परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो। ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए।
खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हुन्।

