काठमाडौं। निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन्। राम्रो काम गर्दागर्दै अप्ठ्यारोमा परेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उनको भनाइ थियो।
सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सोमबार आफ्नो बिदाइका लागि आयोजित कार्यक्रममा मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रूपले लिएको बताए। उनले प्रधानमन्त्री प्रचण्डलाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए। किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री प्रचण्डप्रति आभार पनि व्यक्त गरे।
उनले भने, ‘प्रधानमन्त्री मेरो पार्टीको अध्यक्ष हुनुहुन्छ। प्रधानमन्त्री हुनुहुन्छ। उहाँ प्रधानमन्त्री भएको कारणले उहाँ यति राम्रो काम गर्दा केही अप्ठ्यारा छन् भने तपाईंका लागि सहयोग गरिदिन्छु। तर देश र जनताका लागि राम्रो काम गर्नुस्। हाम्रो पद, प्रतिष्ठा त आउँछ, जान्छ भनेर मैले एकदम सहज तरिकाले यो अवसर दिनुभयो भनेर किसानको छोरो, उत्पीडित थारुको छोरालाई अवसर दिनुभएकोमा प्रधानमन्त्रीलाई पनि धन्यवाद दिन चाहन्छु।’
निवर्तमान मन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्त मन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गरे। मोदीले करिब ६ महिना २६ दिन मन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए। मोदीले आफ्नो कार्यकाल सुखद रहेको दाबी गर्दै खुसी व्यक्त गरे।

