केपी ओली र भीम रावलबीच भेटवार्ता

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेता भीम रावलले भेटवार्ता गरेका छन्। पार्टी कार्यालय च्यासलमा आज दुई नेताबीच छलफल भएको हो। २०७८ मंसिरमा चितवनको सौराहामा भएको १० औं महाधिवेशनपछि उनीहरुबीच भेटवार्ता भएको हो।

दुई नेताबीचको छलफललाई अर्थपूर्ण ढंगले हेरिएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी कार्यक्रममा अछाममा नाराबाजी भएपछि रावलसँग वार्ता गर्न पौडेलको संयोजकत्वमा कार्यदल बनाइएको थियो। रावलले यसअघि उक्त समितिसँग केही समय अघि छलफल गरेका थिए। रावलले अध्यक्ष ओलीको सार्वजनिक मञ्चबाटै आलोचना गरेका थिए। आफ्नो आलोचना नरोकेपछि ओलीले रावललाई कारबाहीको तयारी गरेका थिए। उनले उपाध्यक्ष विष्णु पौडेललाई वार्ता गरी कारबाहीको सिफारिस गर्नसमेत भनेका थिए।

एमालेको १० औं महाधिवेशनमा ओलीले सर्वसम्मत हुन चाहेका थिए। तर रावलले ओलीविरुद्ध प्रतिस्पर्धा गरेका थिए। त्यसपछि ओलीले रावललाई किनारामा पार्दै आएका थिए। अध्यक्षमा पराजित भएका रावलले केन्द्रीय सदस्य अस्वीकार गरेका थिए। महाधिवेशनपछि ओलीले रावललाई सुदूरपश्चिमको नेतृत्वको जिम्मेवारीबाट अलग गरेका थिए।

तत्कालीन नेकपाका बेला रावल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा उभिए पनि अन्तिममा भने एमालेमै रहे। उनी अहिले एमालेमा कुनै जिम्मेवारीमा छैनन्। रावल महाधिवेशनपछि पार्टी कार्यालय समेत गएका थिएनन्।

प्रतिक्रिया

सम्बन्धित खवर