हवाई टापुको माउई जंगलमा लागेको डढेलोबाट मृत्यु हुनेको संख्या ९९

एजेन्सी। हवाई टापुको माउई जंगलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९९ जनाको मृत्यु भएको छ भने केयौं घाइते भएका छन्। हवाईका गभर्नर जोस ग्रीनले मृतकको संख्या दोब्बरले बढ्न सक्ने बताएका छन्।

गत मंगलबार वनबाट सल्केको डढेलोले लहाइनाका झण्डै १३ हजार घरमा क्षति भएको छ। बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन। विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन्।

आगोले खरानी नपारेका भग्नावशेषमा मृतकको खोजी जारी छ। हरेक दिन १० देखि २० जनाको डढेको शरीर फेला पर्दैछ, त्यसैले मृतकको संख्या दुई सयभन्दा बढी हुनसक्ने अनुमान गरिएको खोजमा संलग्न एक जना अधिकारीले बताएका छन्।

बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन। नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन्।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छ भने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन्। अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताएका छन्।

लहाइनाका घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ। डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ। सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने बित्तिकै क्षतिको मूल्यांकन गरिने बताएका छन्। आगलागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन्। केही स्थानमा क्षतिको आकलन पनि थालिएको छ।

गभर्नर ग्रीन नेतृत्वको टोली आज पनि आगलागी भएको स्थानमा पुगेको छ। सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन्।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ। दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए। त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यस पटक वनबाट फैलिएको आगोले माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्।

आगोमा ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ। चिकित्सकहरूले मासुको टुक्रा परीक्षणका निम्ति उठाउँदा त्यो खसेर अर्को निकाल्नुपर्ने दारुण स्थिति उत्पन्न भएको छ। द्रुत गतिमा डिएनए परीक्षण गर्न गभर्नर ग्रीनले निर्देशन दिएका छन्।

सिबीएस टेलिभिजनलाई आज दिएको अन्तर्वार्तामा गभर्नर ग्रीनले खोजी तथा सरसफाइ पूरा गर्न कम्तीमा १० दिन लाग्ने बताउँदै दैनिक १० देखि २० जना मृतक भेटिएका जानकारी दिएका छन्। दश दिनमा नै काम पूरा हुन्छ भन्न सक्ने अवस्था नभएको उनले स्पष्ट गरेका छन्।

गभर्नर ग्रीनका अनुसार दर्जनौं स्वयंसेवक एवं कर्मचारीका साथै २० वटा तालिम प्राप्त कुकुरको सहायतामा खोजीलाई तीव्र गतिमा अघि बढाइएको छ। हराएका मानिसको संख्या दुई हजारको हाराहारीमा रहेकामा मोबाइल सेवा पुनः सुरु भएसँगै त्यो संख्या एक हजार तीन सयमा घटेको जानकारी उनले दिए। वास्तविक क्षतिको विवरण संकलन गर्न अरू केही समय लाग्ने उनले बताए। पुनर्निर्माणका काम थाल्न समय लाग्ने तथा त्यो वर्षौँसम्म जारी रहने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय