काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) आजदेखि निष्कासन गरेकाे छ । कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गरेकाे छ । सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कसान गरेकाे जानकारी दिएको छ ।
इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । कम्पनीले जारीपुँजी तीन अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सोमध्ये नौ लाख ६० हजार कित्ता सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । सोपश्चात बाँकी भएको सेयरमा चार लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । चार लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

