सरकारले कर्मचारीको उच्च मूल्यांकन गर्ने नीति लिएको मन्त्री शर्माको भनाइ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबीच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने बताएकी छन्। प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीसँगको भेटघाटमा राजनीतिक र प्रशासनिक नेतृत्वबीच असमझदारी हटाउनै पर्ने बताइन्।

‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवसम्म दोहोरो संवाद गर्ने सोच बनाएका छौं, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’ मन्त्री शर्माले भनिन्।

उनले सरकार सुरुदेखि नै विकृति, विसंगति अन्त्य र सुशासन कायम गर्दै भ्रष्टाचार अन्त्यका लागि निर्ममढंगले अगाडि बढेको बताइन्। सुशासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाइन्।

उनले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताइन्। सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै सम्भव हुने भएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उनले बताइन्।

सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने उनको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर