पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्छ : पर्यटनमन्त्री किराती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन्। पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उनले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताएका हुन्।

‘लामो समय अगाडि बनेको पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको समस्या समाधान गर्न सक्दैन, पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको छ,’ उनले भने। पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरेको बताए। पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नति हुने उनको भनाइ थियो।

उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए। उच्च निष्ठावान् भएर मन, बचन र कर्मले काम गर्न उनले पर्यटक प्रहरीलाई निर्देशनसमेत दिए। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले तालिममा प्राप्त गरेका अनुभवलाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्न आग्रह गरे।

नेपाल प्रहरीले युनाईटेड नेशन (युएन)मार्फत नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गरिरहेको उनको भनाइ थियो। तालिम संयोजक, प्रहरी उपरीक्षक चित्रबहादुर गुरुङले नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकलाई सेवा र सुरक्षा प्रदान गर्न पर्यटक प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताए। अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि उजागर गर्न पर्यटक प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर