काठमाडौं । मलेसियामा भएको चार देश सम्मिलित महिला क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।
मंगलबार भएको हङकङविरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।
हङकङबाट पाएको ८५ रनको सामान्य विजयी लक्ष्य नेपालले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ १९ दशमलब १ ओभरमा ८४ रनमा अलआउट भएको थियो ।
शनिवारसम्म हुने शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्दैछन् । नेपालले भोलि कुवेतसँग र बिहीवार घरेलु टोली मलेसियासँग खेल्नेछ । राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

