काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा जातीय नारा उचालेर प्रचण्ड र माधव नेपालले उत्पात मच्चाएको आरोप लगाएका छन् ।
आज बिहीबार भक्तपुरमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कहिले प्रदेश नामकरण त कहिले जातीय विद्वेष फैलाउने काम गरिरहेको बताएका हुन् ।
उनले कोशीमा प्रचण्ड र माधव नेपालहरूले नुवाकोटमा साढे जुधाए झैँ जनतालाई जुधाइरहेको बताए । अध्यक्ष ओलीले विखण्डनवादलाई राष्ट्रिय एकताको भावले जित्ने भन्दै जनतालाई अन्यायको राज हुन नदिने बताए ।
राष्ट्रको हितविपरित, राष्ट्रको सार्वभौमसत्ता विपरीत र राष्ट्रको स्वाधीनता विपरीत कसैले काम गर्छ भने त्यसलाई असफल बनाएरै छाड्ने ओलीको भनाइ छ ।

