जीईएफको सातौँ विश्व सम्मेलनबाट अर्थमन्त्री डा. महत उपाध्यक्षमा निर्वाचित

क्यानाडा । ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनबाट नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महत उपाध्यक्षमा निर्वाचित भएका छन् ।

आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडि मन्त्री महतले विश्व वातावरण कोषको एसेम्वली बैठकमा सम्बोधन गर्दै नेपालले कुल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताए ।

साथै, उनले दक्षिण एसियाका एक अर्बभन्दा बढी जनसंख्याको लागि पानीको श्रोत रहेको विषय विश्व समुदायमा ध्यानाकर्षण गरे ।

यसैगरी नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरूको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा वृद्धि भएको बताए ।

यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालको लागि मात्र नभई विश्व मानव समुदायकै सम्पदाको रूपमा रहेको उल्लेख गर्दै यी प्रयासका बावजुत पनि नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले उच्च जोखिममा पर्दछ । नेपाल विश्वको १०औँ जोखिमयुक्त मुलुक भएको र पछिल्ला दिनहरूमा बाढीपहिरो अतिवृष्टि सुक्खा साथै हिमताल विस्फोटको जोखिम समेत बढेको बताए ।

नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा ५० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी आवश्यक रहेकोतर्फ सहभागीहररूको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर