मोरङ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको इज्जत जोगाउन तथा अर्थतन्त्र र आर्थिक उन्नतिका लागि तस्करी नियन्त्रण अति आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले तस्करीका कारण मुलुकको विकासमा बाधा उत्पन्न हुने भएकाले यसलाई अविलम्ब रोक्न माग गरे।
पूर्वप्रधानमन्त्री ओलीले नेपाली काँग्रेस र एमाले दुई ठूला जिम्मेवार राजनीतिक दलले मुलुकमा सुशासन, आर्थिक विकासका लागि मिलेर अगाडि बढ्नुपर्नेमा दुई मत नरहेको स्पष्ट पारे। उनले एमाले सरकार निर्माण गर्नेतर्फ ध्यान नदिएको भन्दै राजनीतिक स्थिरता, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक विकासतर्फ केन्द्रित रहेको धारणा राखे।
उनले कोशी प्रदेशमा सरकार निर्माणका सम्बन्धमा भइरहेका राजनीतिक गतिविधिमा असन्तुष्टि व्यक्त गरे। उनले तरिकाले बनेको सरकार धेरै नटिक्ने र अब एमालेकै नेतृत्वमा नयाँ सरकार बन्ने बताए। सरकार बनाउन बहुमत चाहिएला नि भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले एमालेको बहुमत पुग्ने दाबी गरे। ‘सरकार बन्न ४७ सांसदको समर्थन चाहिन्छ। अब एमालेको सरकार बन्दा ४७ होइन ५० भन्दा बढी सांसदको समर्थन हुन्छ,’ उनले भने।

