काठमाडौं। विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गर्दै मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढवा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिए। उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताए।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र संघीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ। विद्युतीय सवारीसाधनको प्रवर्द्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ।
सरकारले देशभर नै पाँच सय वटा चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरेको छ। यस्तै, नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका ५० वटा चार्जिङ स्टेशन एकाधबाहेक अधिकांश सञ्चालनमा आइसकेका छन्।
वातावरणीय सुरक्षा र जलवायु परिवर्तनले पारेको प्रभाव नियन्त्रणका लागि पनि स्वच्छ ऊर्जाको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता बढेर गएको स्पष्ट पार्दै मन्त्री बस्नेतले सोही दिशामा सरकारले आफ्नो लक्ष्य तय गरेको बताए। विद्युतीय सामग्रीको प्रयोगमा बढवा दिनु भनेको वातावरणको संरक्षण गर्नु पनि हो भन्ने मान्यताको विकास गराउन मन्त्रालयले योजनाबद्ध पहल थालेको उनको भनाइ छ।

