एजेन्सी। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्व विकासमा जोड दिएका छन्। युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी २० शिखर सम्मेलन आयोजक राष्ट्रका प्रधानमन्त्रीले पर्सी शनिबारदेखि नयाँ दिल्लीमा आयोजना हुने दुई दिने शिखर सम्मेलनका सन्दर्भमा आज प्रकाशन गरेको आलेखमा समावेशी विश्व विकासमा जोड दिएका हुन्।
संस्कृत सुक्ति ‘वसुधैव कुटुम्बकम्’ अर्थात् पृथ्वीका सबै मानिस एकै परिवारका सदस्य हुन् भन्ने आशययुक्त शिखर सम्मेलनको नाराबाट प्रारम्भ गरेको आलेखमा वसुधैव कुटुम्बकम्को समावेशी दृष्टिकोणले मानव समाजलाई सिमाना, भाषा र दर्शनभन्दा माथि उठेर एक विश्वव्यापी परिवारका रुपमा अघि बढ्न प्रेरित गरेको बताएका छन्।
भारतका प्रधानमन्त्री मोदीले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिएका छन्। कोभिड-१९पछिको विश्व व्यवस्थामा परिवर्तन आएको, कुनै पनि देशको आर्थिक उन्नयनको मापक कुल गार्हस्थ्य उत्पादनलाई त्यागेर अब मानव केन्द्रित दृष्टिकोण विकास गर्नुपर्ने, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध हुन नदिनेतर्फ सचेत हुनुपर्ने तथा विश्व संस्थाहरूलाई बहुपक्षीयताका पक्षमा अभिप्रेरित गर्न आवश्यक भएको आलेखमा उल्लेख गरेका छन्।
आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकै स्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकांक्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्य भएको विचार व्यक्त भारतका प्रधानमन्त्रीले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी २० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरशः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताएका छन्।