समाजवादी मोर्चाले कम्युनिष्टबीचको अन्तर्विरोधको हल गर्ने विप्लवको विश्वास

विराटनगर। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चाले नेपालका कम्युनिष्टबीच रहेको अन्तर्विरोधको हल गर्ने विश्वास व्यक्त गरेका छन्। समाजवादी मोर्चाले विराटनगरमा आज आयोजना गरेको प्रदेशस्तरीय सन्देश सभामा उनले चिरा-चिरामा रहेका कम्युनिष्टहरूलाई एकताबद्ध हुने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए। कम्युनिष्टहरु एकताबद्ध नहुँदा अरूले फाइदा उठाएको उनको भनाई थियो।

परिस्थितिले फुट र जुट गराउने गरेको बताउँदै महासचिव विप्लवले फुटले रमाउने तत्त्वहरू रमाए पनि जनता दुःखी भएको बताए। उनले अब कम्युनिष्टहरू देशलाई आपत् परेको बेला, देशलाई निकास दिन मिल्ने र कालोसपना देख्नेहरूलाई सखाप पार्ने सन्देश दिनुपर्ने बताए। साम्राज्यवादीहरूले देशलाई युक्रेन बनाउन खोजेको बताउँदै उनले भने, ‘नेपाललाई निकास दिन नेपाली नै हुन्, कसैले युक्रेन बनाउन नखोजे हुन्छ।’

समाजवादी मोर्चा इतिहासको नयाँ प्रयोग भएको महासचिव विप्लवले बताए। मोर्चा स्पष्ट दृष्टिकोण लिएर आएको र यसले ९५ प्रतिशत जनताको चाहना र आकांक्षा पूरा गर्ने उनको दाबी छ। देश पेचिलो अवस्थामा पुगेकोले त्यसबाट मुक्ति गर्न समाजवादी मोर्चा अगाडि आएको पनि उनले प्रष्ट पारे। ‘मोर्चा जुन परिस्थितिमा निर्माण भएको छ त्यसको तरंगले यसको औचित्य पुष्टि गरेको छ,’ उनले भने, ‘देशको परिस्थिति जनताले सोचे जस्तो नभई पेचिलो देखिएको छ। यो पेचिलो परिस्थितको सामना गर्न समाजवादी मोर्चा गठन भएको हो।’

महासचिव विप्लवले समाजवादी मोर्चा गठनपछि जनतामा उत्साह थपिएको छ केही समूह भने मोर्चा गठनपछि त्रसित भएको बताए। उनले समाजवादी मोर्चा निर्माणका क्रममा सामूहिकतालाई बुझेर अघि बढेको उनले बताए। जातीय द्वन्द्व फैलाउने काम भइरहेको भन्दै त्यसबाट सचेत हुनुपर्ने उनको भनाइ थियो। ‘हाम्रो देश जटिल संक्रमणकालमा उभिएको छ। नेपालमा शान्ति र समृद्धि चाहिएको छ। केही परिवर्तन पनि भएका छन्,’ उनले भने, ‘तर देशको स्थिति पेचिलो बन्दै गइरहेको छ। यसको सामना कसले गर्ने? हामीले गर्ने हो।’

प्रतिक्रिया

सम्बन्धित खवर