वैदेशिक रोजगारीमा रहेका युवाको भविष्य खोज्न गम्भीरतापूर्वक लागिरहेको छु: प्रधानमन्त्री

विराटनगर। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन्। विराटनगरमा आज आयोजित समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभालाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिवद्धता व्यक्त गर्नुभएको छ। यो आफैमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ उर्जा पैदा भएको छ।’ सरकारका कामले जनताको भरोसा जितेको उल्लेख गर्दै उनले त्यसले आफूहरूको इमानदार प्रयासलाई प्रमाणित गरेको पनि बताए। उनले कुराबाट नभई काम र एक्सनबाट केही नयाँ गर्न चाहेको पनि प्रष्ट्याए।

‘यस पटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु। जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आज देशमा क्रमशः जुन उत्साह पैदा भएको छ। यसले जनतामा भरोसा बढेको छ, देशमा केही हुन्छ भन्ने आशा जागेको छ। यसले निराशालाई चिर्नेछ, समाजवादको आधार तयार पार्न भूमिका खेल्नेछ।’

उनले युवाहरूको भविष्यको बारेमा आफू चिन्तित रहेको पनि बताए। उनले युवाहरूको भविष्यबारे नसोचेर देशको विकाश नहुने धारणा राखे। प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारी सिर्जना गरी युवाहरूको भविष्य सुनिश्चित गर्नतर्फ आफू गम्भीरतापूर्वक लागिरहेको बताए।

उनले भने, ‘यस पटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति छ। उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यस पटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरी देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु। विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरु गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्छौं।’

उनले अगाडि थपे, ‘युवाहरू देशभित्रै केही गर्न चाहन्छन्, त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको हो। आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरु गरेको छु। विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौं।’

उनले सामाजिक न्याय, सुशासन र समृद्धिबाट नै समाजवादको आधार तयार पार्न सकिने धारणा व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले सरकारले यसबीचमा मिटरब्याज पीडित किसानलाई न्याय दिइएको पनि बताए। नागरिकताविहीन नागरिकले नागरिकता पाएको कुरा पनि स्मरण गराए। उनले भ्रष्टाचार र बेथितिका विरुद्ध कठोर कदम चालिएको पनि बताए। भ्रष्टाचार र बेथितिमाथि प्रहार नगरी समाजवादको आधार तयार हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार यसमा प्रष्ट छ र दृढतापूर्वक अगाडि बढेको बताए।

प्रदेशको नामकरणबारे बोल्दै उनले भने, ‘विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिन्छ र गरिनुपर्दछ। एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धि उल्टाउने बहाना खोजिरहेका छन्। त्यसमा हामी सतर्क रहनुपर्छ। परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर