काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमणबाट नेपाल-चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन्। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनु पूर्व संसद्लाई जानकारी गराउँदै उनले भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन प्रयास गर्ने बताए।
नेपालको प्रधानमन्त्रीको हैसियतमा आफ्नो यो तेस्रो चीन भ्रमण भएको उल्लेख गर्दै उनले कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताए। ‘नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ,’ उनले भने, ‘भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ।’
चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ठ र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने विश्वास व्यक्त गरे। संघीयता लागू भएपछिको दोस्रो आमनिर्वाचनपश्चात् बनेको सरकार प्रमुखको हैसियतमा आफूले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति, दिगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास व्यक्त गरे।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् आगामी असोज ५ गते चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम तय भएको उनले जानकारी दिए। ‘संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिकाबीच अत्यन्त छोटो समय रहेका कारण म न्युयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो,’ उनले भने।
नेपाल र चीनबीच सदियौंदेखि सौहाद्र्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रहिआएको र हालैका वर्षमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको उनको भनाइ छ। चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वांगीण विकासका प्रयासमा सहयोग गर्दै आएको उनले उल्लेख गरे। हाङ्जाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटघाटको कार्यक्रम रहेको जानकारी उनले दिए। प्रधानमन्त्री प्रचण्ड १९औँ एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। सेप्टेम्बर २५ मा बेइजिङमा समकक्षी ली छियाङसँग भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीले जानकारी दिए।
भ्रमणका क्रममा कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए।
यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्धलगायत संयुक्त राष्ट्रसंघका सदस्य मुलुकका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने उनको भनाइ छ। ‘यस वर्षदेखि अल्पविकसित राष्ट्रको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारी हामीलाई आएको छ,’ उनले भने। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफू शनिबार संयुक्त राष्ट्रसंघको मुख्यालय प्रस्थान गर्ने उनले जानकारी दिए।

