काठमाडौं। जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाङजाउ विमानस्थलमा पुगेका छन्। न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान हाङजाउ पुगेका हुन्।
प्रधानमन्त्री दाहाल १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीनको उत्तर दक्षिणी सहर हाङजाउ पुगेका हुन्। हाङजाउमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काओ झिदान, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङलगायतले स्वागत गरेका थिए।
न्युयोर्कको ५ दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड ८ दिने चीन भ्रमणमा निस्केका हुन्। चीनको हाङजाउमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड द्विपक्षीय भेटवार्तामा सहभागी हुनेछन्। न्युयोर्कबाट प्रचण्डको सचिवालयसहित परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र अन्य परराष्ट्र मन्त्रालयका अधिकारी चीनतर्फ लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले शनिबार नै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग हाङजाउमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। आइतबार प्रधानमन्त्री प्रचण्ड हाङजाउबाट बेइजिङ जानेछन् भने सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।

