काठमाण्डौ । पशु सेवा विभागले आजदेखि खसीबोकाको स्वास्थ्य परीक्षण गरेर चिह्न लगाउन शुरु गरेको छ । विभागले काठमाण्डौका विभिन्न ठाउँका बजारमा स्वास्थ्य परीक्षण गरेर स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिह्न लगाउने अभियान आजदेखि शुरु गरेको हो ।
काठमाण्डौका विभिन्न ११ वटा ठाउँबाट खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया शुरु भएको हो ।
कलङ्की खसी बजार, बल्खु कालीमाटी माछा बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल अकाशे धारा र सुकेधारा थानकोट दाउरा डिपो, दहचोक मूलपानी चौर खसी बजारको होल्डिङ तथा सङ्कलन केन्द्रमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम शुरु गरिएको विभागले जनाएको छ । खसीबोकाको स्वास्थ्य परीक्षणका लागि तोकिएको ठाउँमा ५ देखि ७ जनाको टोली परिचालन गरिएको विभागले जनाएको छ ।

