काठमाडौं। नेपाल राष्ट्र बैंकले दसैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गर्दै आज सोमबारबाट नयाँ नोट सटही सुविधा दिने भएको छ। राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ। काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ।
त्यसैगरी उपत्यकाबाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले आफ्ना कार्यालयमार्फत सर्वसाधारण र बैंक तथा वित्तीय संस्थालाई वर्षभर नै नयाँ नोट वितरण गरिरहेको हुन्छ।
राष्ट्र बैंकले गत वर्ष जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिन लागेको हो। १८ हजार ५ सय रुपैयाँ भनेको ५ देखि १ सय रुपैयाँसम्मको एक÷एक बन्डल हो। राष्ट्र बैंकका अनुसार सर्वसाधारणले असोज २९, ३० तथा कात्तिक १, २ र ३ गतेसम्म नयाँ नोट साट्न पाउनेछन्।