गृहमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल चीन प्रस्थान

काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डल आज चीनको राजधानी बेइजिङ प्रस्थान गरेको छ। तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलगायतका उच्च सरकारी अधिकारीले बिदाइ गरे।

मङ्गलबार र बुधबार बेइजिङमा हुने सो सम्मेलनमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चको नीति एवम् प्रगतिबारेमा छलफल हुने छ। सो कार्यक्रमलाई उपप्रधानमन्त्री श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ। सम्मेलनको पहिलो दिन भोलि मङ्गलबार चिनियाँ राष्ट्रपति सी चिनपिङले आयोजना गर्ने रात्रिभोजमा उपप्रधानमन्त्री श्रेष्ठ सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने बताइएको छ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको भ्रमण टोलीमा गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, परराष्ट्र मन्त्रालयका सहसचिव अमृत राई, विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायतको सहभागिता छ।

प्रतिक्रिया

सम्बन्धित खवर