काठमाडौं । नौ बुँदे घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन एवं ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । गत बिहीबार काठमाडौंमा सुरु भएको सम्मेलन नौ बुँदे घोषणापत्र जारी गर्दै आइतबार साँझ सम्पन्न भएको हो ।
सम्मेलनमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू, पदाधिकारीहरूसँगै संसारभरका ५९ मुलुकका ४ हजार २२७ प्रतिनिधि भौतिक र अनलाइनमार्फत् सहभागी भएका थिए ।
संघको महाधिवेसनले डा. बद्री केसीको अध्यक्षतामा ७४ जना पदाधिकारी रहेको नयाँ कार्यसमिति निर्वाचित गरेको छ । अनलाइन र प्रत्यक्षरुपमा भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी आरके शर्मा र महेशकुमार श्रेष्ठ पराजित भएका थिए । पराजित तथा असन्तुष्टहरूको समूहले बेग्लै कार्यसमिति घोषणा गरेको छ ।
महाधिवेशनले महासचिव गौरीराज जोशीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष फणीन्द्र पन्तद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।
सम्मेलनले नागरिकता प्राप्तिको प्रक्रियालाई सहज र सरल बनाउन नेपाल सरकारसमक्ष अनुरोध गरेको छ । श्रम सम्झौता भएका मुलुकसँग नवीकरण र नयाँ सम्भावित गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्न पनि माग गरेको छ ।
सम्मेलनले राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान तथा विश्वविद्यालयहरूसँग सहकार्य गरी राष्ट्रिय नीति निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।
सम्मेलनले बहुसंख्यक नेपालीको उपस्थिति रहेका अफ्रिकी मुलुकहरू, दक्षिण अमेरिका, इराक लगायत क्षेत्रमा रहेका नेपाली श्रमिकहरूको समस्या सम्बोधनका लागि पहल गर्न गन्तब्य मुलुकमा दूतावास तथा कन्सुलर सेवा स्थापना गराउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

