नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता: अर्थमन्त्री महत

एजेन्सी। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय श्रोतको आवश्यकता रहेको बताएका छन्। लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनमा अर्थमन्त्री डा. महतले समृद्धि र आर्थिक रूपान्तरणका लागि आन्तरिक श्रोत पर्याप्त नहुने भएकोले वैदेशिक लगानी अपरिहार्य रहेको बताएका हुन्।

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धि हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा एक उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो। सो अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको र यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको समेत बताए।

उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे। बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट लगानीका दीर्घकालीन वित्तीय स्रोतहरुमार्फत् बेलायतबाट नवीकरणीय उर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए।

नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशसमेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तनसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर