काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र संकटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन्।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताएका हुन्। प्रधानमन्त्रीले भने, ‘हामीले सरकारको नेतृत्व गर्ने बेला अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा थियो। तर, सरकारको मेहेनतका कारण अर्थतन्त्र संकटमुक्त भएको छ। विदेशी मुद्राको सञ्चिति, राजस्व संकलन र परिचालन, पर्यटक आगमन, विप्रेषणलगायत क्षेत्रका सूचक हेर्दा हामी प्रगति तिरै छौं।’
अर्थतन्त्र अझै पनि दबाबमुक्त भइनसकेको उल्लेख गर्दै उनले अर्थतन्त्रको दबाब हटाउने विषय सबैभन्दा ठूलो कार्यभार हुन आएको बताए।

