काठमाडौं । जाजरकोटमा गएको भूकम्पमा परी एक सय ३४ जनाले ज्यान गुमाएका छन्। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतका अनुसार मृत्यु हुने जाजरकोटका ९६ र रुकुम पश्चिमका ३८ जना छन्। जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८४ गरी १३९ जना घाइते रहेका छन्।
अहिलेसम्म १५५ जनाको उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा खोज उद्धारमा एक हजार प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख भीम ढकालले जानकारी दिए।
उनले दुई हिजोदेखि नै प्रहरी खटिएको पनि जानकारी दिए। घाइतेको उपचारका लागि विभिन्न अस्पतालमा लैजाने क्रम जारी रहेको पनि प्रमुख ढकालले बताए।
यस्तै, नेपाली सेनाले काठमाडौं, सुर्खेत र नेपालगन्जमा डा. अधिकृत र स्वास्थ्य सामग्रीसहितको टोली थप उद्धार कार्यको लागि स्ट्याण्डबाई राखिएको जानकारी दिएको छ।
घाइतेहरूको थप उपचारका लागि सैनिक अस्पताल नेपालगन्ज र वीरेन्द्र अस्पताल छाउनीमा डा. अधिकृतको टोली तयारी हालतमा रहेको नेपाली सेनाले बताएको छ।दुई बटालियन नै सम्बन्धित क्षेत्रमा पुगेको सहायक रथी तथा नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

