काठमाडौं । सडक आन्दोलनमा होमिएका दुर्गा प्रसाई नेतृत्वको भक्तपुरस्थित विरोध प्रदर्शन स्थगित भएको छ। राजतन्त्र र ऋण मिनाहको एजेण्डा लिएर उनि आन्दोलनमा छन् ।
बल्खु, तीनकुने र हिजो सिफल क्षेत्रमा प्रदर्शन गरेका मेडिकल व्यवसायी प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामको महाअभियानले आज भक्तपुरको दरबार क्षेत्रभित्र गर्ने भनिएको कार्यक्रम स्थगित भएको बताएको छ।
सूचना जारी गर्दै अभियानले आज बिहान ११ बजेदेखि कलंकी चोक, बालाजु बिजीमल, रत्नपार्कमा एकैपटक विरोधस्वरुप सांस्कृतिक कार्यक्रम गर्ने घोषणा गरेको छ। तर, प्रसाईको कार्यक्रम भक्तपुरबाट काठमाडौंमा सरेको बारे जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी छैन।
भक्तपुरमा कार्यक्रम राखेको जानकारी भए पनि स्थगित भएको र काठमाडौंको विभिन्न स्थानमा रहेको अभियानको कार्यक्रमबारे जानकारी नभएको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र प्रसाद आचार्यले जानकारी दिए। कानून विपरित प्रदर्शनमा उत्रिए सोही अनुसार कडा रुपमा प्रस्तुत हुने स्थानीय प्रशासनको तयारी छ।

