काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले काठमाडौंबासीलाई छिटोभन्दा छिटो मेलम्चीको पानी खुवाउने बताएका छन् ।
काठमाडौंबासीले सो पानी एक हप्ताभित्र व्यवस्था गर्न दवाव दिइरहेका बेला मन्त्री यादवले आज मंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ सो प्रतिवद्धता व्यक्त गरेका छन् । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका उनले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालय सकारात्मक छलफल भएको पनि बताए ।
मन्त्री यादवले फेरि उपभोक्ता, भेन्डरसहित अर्थ मन्त्रालयसँग छलफल गरेर मेलम्चीको पानी काठमाडौं ल्याउने काममा देखिएको समस्या समाधान गर्ने आश्वासन दिए ।
यता, काठमाडौंबासीले भने एक हप्ताभित्र मेलम्चीको पानी काठमाडौंमा ल्याउने व्यवस्था गर्न सरकारलाई दवाव दिएका छन् । एक हप्ताभित्र पनि सो पानी काठमाडौं ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।

