बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका आफ्नै पार्टीका नेता बालकृष्ण खाणले न्याय पाउने बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बोल्न उचित नहुने उल्लेख गर्दै खाणले न्याय पाउनेमा आफू विश्वस्त रहेको बताए ।
उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि पहल गर्नेसमेत बताए । उनले यसबारे सरकार र सरोकारवाला सबै पक्षसँग परामर्श गर्ने जानकारी दिए ।
कार्यक्रमका नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले नेपाली कांग्रेसले प्रदेश, स्थानीय तहमा नेतृत्व गर्दा त्यसबाट जनतालाई के डेलिभरी ग¥यो भन्ने समीक्षा गर्नुपर्ने बताए । उनले पार्टीभित्र एक अर्कोलाई दोष देखाएर उम्कन प्रयास गर्नुभन्दा पनि आ–आफ्नो कमजोरीलाई सुधार गरेर अगाडि जानुपर्ने बताए ।

