काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढंगबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन्। प्रेस सेन्टर नेपालका पदाधिकारीको तेस्रो पूर्ण बैठकमा आज उनले झुटो प्रचार रोक्ने र जनतालाई सही सूचना दिने सञ्चार क्षेत्रको महत्त्वपूर्ण जिम्मेवारी भएको बताएका हुन्।
पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्त्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुटो प्रचार गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रामक सूचनाका विरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्न आग्रह गरे। प्रधानमन्त्रीका रुपमा आफूले राष्ट्र, जनता, संविधान र लोकतन्त्रका पक्षमा दृढतापूर्वक काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले थालेका जनपक्षीय कामबाट आत्तिएका शक्तिले अनावश्यक भ्रम फैलाएको बताए।
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा आफूले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु सम्मेलनका क्रममा थाहा पाएको र सो सम्बन्धमा तत्कालै अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।
‘म युएईमा हुँदा एनसेल खरिद बिक्री भएको सुनेँ, यसमा सतर्कतापूर्वक अध्ययन गर्न निर्देशन दिएँ,’ उनले भने, ‘स्वदेश फर्केको भोलिपल्ट मुख्यसचिवलगायत पदाधिकारीलाई यसबाट नेपालको कर प्रणाली, वैदेशिक लगानी तथा केही वर्षपछि सो कम्पनी नेपाल सरकारले प्राप्त गर्ने प्रावधानमा के कस्तो असर पर्छ भनेर अध्ययन गर्न निर्देशन दिएँ।’
अस्वाभाविक देखिएको एनसेल खरिद बिक्रीको संवेदनशीलता र गम्भीरतालाई हेरेर आफूले गठबन्धनभित्र पनि छलफल गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘शेयर खरिद बिक्रीमा कैफियत छ, छानबिन गरेर सत्यतथ्य पत्ता लगाउनुपर्छ, राष्ट्र, जनता र मुलुकको अर्थतन्त्रका पक्षमा दृढतापूर्वक अगाडि बढ्नुपर्ने प्रस्ताव राखेँ।’ सो शेयर खरिद बिक्री सम्बन्धमा सरकारले अनुसन्धान गर्नुपर्छ भन्नेमा सबैको सहमति भएको उनले बताए।
फरक प्रसङ्गमा प्रधानमन्त्री प्रचण्डले वर्तमान सत्ता गठबन्धन पूरै अवधि कायम रहने बताए। उनले एक वर्षको समीक्षा गर्ने र आगामी वर्षका लागि नयाँ रणनीतिका साथ अघि बढ्ने प्रतिबद्धतासमेत दोहोर्याए। बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, प्रेस सेन्टरका नेता महेश्वर दाहाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलगायतको सहभागिता थियो।

