मानव अस्तित्व रहँदासम्म बुद्ध दर्शन जीवित रहन्छ: प्रधानमन्त्री प्रचण्ड

नवलपरासी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अस्तित्व रहँदासम्म बुद्ध दर्शन जीवित रहने बताएका छन्। विश्वशान्तिको कामना गर्दै पश्चिम नवलपरासीको रामग्राम स्तूपमा आज आयोजित विशेष कार्यक्रममा उनले विश्वशान्ति आजको आवश्यकता रहेको बताउँदै हामी यो सन्देश विश्वभर फैलाउन सफल भएको उल्लेख गरे।

गौतमबुद्धले दिएको उपदेशको आवश्यकता र औचित्य अहिले थप पुष्टि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ। उनले त्यस अवसरमा रामग्राम स्तूप विकासको गुरुयोजना कार्यान्वयनको प्रतिबद्धता समेत व्यक्त गरे।

प्रधानमन्त्री प्रचण्डले रामग्राम स्तूप क्षेत्रको पुनःस्थापना, संरक्षण र विकासका लागि दूरदर्शी काम गर्ने बताए। यस कार्यक्रमले विश्वशान्तिका लागि ठूलो सन्देश दिने भन्दै उनले संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस र आफूले लुम्बिनीमा विश्वशान्तिको कामनाका लागि प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरे।

‘आजको कार्यक्रमले विश्वसामु नयाँ सन्देश जाने मात्र होइन, रामग्राम स्तूप र समग्र लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ प्रधानमन्त्री प्रचण्डले भने। बुद्धकालीन सम्पदाको संरक्षण र विकासका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरिएको बताउँदै उनले बुद्धको दर्शन, विचार र उपदेशबाट आफू सधैँ प्रेरित भएको हुँदा बुद्धकालीन सम्पदाको विकासमा आफूले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले तिलौराकोट, लुम्बिनी र रामग्राम स्तूपलाई समेटेर सरकारले बृहत्तर योजना अघि सारेको जानकारी दिए। ‘नेपाल बहुभाषिक, बहुजातीय मुलुक भए पनि सबै धर्म र समुदायले बुद्ध दर्शनलाई अंगालेका छन्, यही नै हाम्रो धार्मिक सहिष्णुता हो, यही नै हाम्रो एकताको सन्देश हो,’ उनले भने।

कार्यक्रममा विदेशी राष्ट्रका प्रतिनिधि तथा बौद्धमार्गीहरुको उल्लेख्य उपस्थिति थियो। शान्तिका अग्रदूत गौतमबुद्धको अस्तुधातु रहेको ऐतिहासिक तथा धार्मिकस्थल रामग्राम स्तूपमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री नवलपरासी आएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर