काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थमाथि प्रतिबन्ध कार्यान्वयन गर्न पहिलो चरणमा ५० जना नगर प्रहरी परिचालन गर्ने भएको छ ।
आज पत्रकार सम्मेलन गर्दै महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरका विभिन्न ४ क्षेत्रमा १० जनाको दरले प्रहरी परिचालन गर्ने र सादा पोसाकका प्रहरीले समेत अनुगमन गर्ने जानकारी दिनुभएको छ । पछि आवश्यकता अनुसार थप नगर प्रहरी परिचालन गर्ने महानगरले जनाएको छ ।
कसैले यसविरुद्ध गई सुर्ती बेचबिखन गरे नगर प्रहरीलाई यसबारे सूचना दिनसमेत आग्रह गरेको छ । महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२, सुर्तीजन्य पदार्थ (निरूपण तथा नियमन) ऐन २०६८ को दफा बमोजिम यस्तो प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
महानगरले जनस्वास्थ्यमा परेको प्रतिकूल प्रभाव रोक्न, सहरी सौन्दर्यता कायम राख्न र भूमि तथा वातावरणीय असर न्यूनीकरण गर्नका लागि सुर्तीजन्य पदार्थमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ ।
महानगरले मंसिर २८ गतेदेखि सुर्ती सेवनका निम्ति उत्पादित कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्तीमाथि प्रतिबन्ध लगाउने जनाएको छ । साथै सोही दिनबाट सार्वजनिक स्थलको एक सय मिटर वरिपरि धूम्रपान गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।
महानगरले यस निर्णय कार्यान्वयनका लागि हरेक पसलमा अनुगमन गर्ने र सुर्तीजन्य पदार्थ बेचेको पाइएमा दुई पटकसम्म जफत गरिने र तेस्रो पटक पसल नै बन्द गर्ने महानगरले जनाएको छ । सार्वजनिक स्थलमा धूम्रपान गरेमा त्यहाँबाट निकालिने र एक सय रुपैयाँसम्म जरिवाना तिराइने पनि महानगरले जानकारी दिएको छ ।

