बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ । पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायाधीश कृष्णराम कोइरालाको आजको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिएपछि खाँणबारेको निर्णय रोकिएको थियो।

खरेलले खाँणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए भने पाण्डेले ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। दुई न्यायाधीशबीच राय बाझिएपछि तेस्रो न्यायाधीशकोमा निर्णयको अधिकार सरेको थियो।

यसअघि खरेल र पाण्डेको इजलासले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख, हज समितिका अध्यक्ष रहेका शमशेर मियाँलाई १० लाख, खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई १० लाख, एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३० लाख, हरिभक्त महर्जनलाई १५ लाख र रामशरण केसीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। सबै धरौटी बुझाएर छुटे पनि रिजाल भने धरौटी बुझाउन नसक्दा थुनामै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर