काँग्रेसको कार्यसम्पादन समिति बैठकका निर्णय यस्ता छन्

काठमाडौं। नेपाली काँग्रेसले आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रियसभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापतिलाई दिइएको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए। उनले निर्वाचन र दल दर्ताको व्यवस्थापन गर्नका लागि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई तोक्ने निर्णय भएको बताए।

त्यस्तै, बैठकले पार्टी महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको छ। यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो। तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्‍याएको थियो। उनले बैठक सार्नुको कारण राष्ट्रियसभाको निर्वाचन रहेको बताए।

बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरू महासमितिमा सिफारिस गर्ने निर्णय भएको नेता विश्वकर्माले बताए। भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानाकर्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बताए। बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर