काठमाडौं । सिन्धुलीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा खोटाङका दुई जनाको मृत्यु भएको छ । आज बिहान सुनकोसी गाउँपालिका–३ बोहोरेटारस्थित बिपी राजमार्गमा भएको दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो।
मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङ हलेसी तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र मोटरसाइकल पछाडि सवार दिक्तेल नगरपालिका १० की १८ वर्षीया मुनाकला राई भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता चिरन्जीवि दाहालले जानकारी दिए।
बागमती प्रदेश ०१००६ ख ४५९३ नम्बरको बसले बा ६० प ३५४५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको हो। बसका चालक रामेछाप मन्थलीका रुपेश अधिकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनापश्चात आक्रोशित स्थानीयले बसमा आगजानी गरेर बिपी राजमार्ग अवरुद्ध पारेका छन्।

